Search
Close this search box.

वीरेन्द्रनगरको ३ अर्ब ५९ करोडको बजेट, उपमहानगर बनाउने नीति

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले १५ औं नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगततर्फ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये सङ्घीय वित्तीय सामानीकरण अनुदान २४करोड १२ लाख, सर्शत अनुदान १ अर्ब ६९ करोड २८ लाख ५१ हजार ३६, सङ्घीय राजश्व बाँडफाँड १८ करोड ९८ लाख ८१ हजार ९० रुपैयाँ, सङ्घीयसरकार विशेष अनुदान पूँजीगत १ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान पूँजीगत १ करोड, सङ्घीय सरकार रोयल्टी ८ लाख १८ हजार ८ सय ७३ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान २ करोड ९९ लाख १४ हजार रहेको छ । यस्तै प्रदेश सशर्त अनुदान २८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्व बाँडफाँड ६४ लाख ७५ हजार १ सय ४८, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जनबाट १४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ र दहत्तर वहत्तर शुल्क २ करोड ५० लाख उठ्ने अनुमान गरिएको छ ।

यस्तै नगरपालिकाको आन्तरिक आय ३६ करोड ८३ लाख ४ हजार हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा खर्च नभई मौज्दात रहने रकम १८ करोड ७४ लाख २८ हजार रहने बताइएको छ । यस्तै सामाजिक सुरक्षा अनुदानबाट ४० करोड रकम पाइने अनुमान गरिएको छ ।

नगरपालिकाले विशेषगरी आधारभूत विषयहरुलाई बजेटमा प्राथमिकता दिएको छ । खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि १० करोड बजेट विनियोजन गरिएको छ भने वडास्तरीय योजना तथा कार्यक्रमका लागि १७ करोड २० लाख विनियोजन गरिएको छ । यस्तै मेयरसंग महिला किसान कार्यक्रमका लागि १ करोड ६० लाख, वडास्तरीय नगर गौरव आयोजनाका लागि ८ करोड बजेट विनियोजन गरिएको छ ।

वीरेन्द्रनगरलाई उपमहानगर बनाउने, मंगलगढीमा आकाशे पुलको नीति

नगरप्रमुख मोहनमाया ढकालले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगर बनाउने नीति लिइएको छ । उसोत यो नीति अघिल्लो वर्ष पनि समावेश गरिएकै थियो । यद्यपि कार्यान्वयन हुन सकेन । ‘नगरपालिकालाई प्राप्त श्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रलाई अगाडि बढाएका छौँ,’ढकालले भनिन्, ‘नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्याउन सफल‘भएको हुँदा यसलार्ई उपमहानगरपालिकाको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने हाम्रो योजना रहेको छ ।’

वीरेन्द्रनगरको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्याबारे राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएको छ । आगामी तीन बर्षमा कार्यसम्पन्न गरी खानेपानी व्यवस्थापन गर्न तीब्रताका साथ कार्य अघि बढाइने ढकालको भनाइ छ । साथै तत्काल खानेपानीको वैकल्पिक माध्यम, मुल सुधार, पानी वितरण प्रक्रियामा सुधार र डिप बोरिङ व्यवस्थापन गरिने उनले बताइन् ।

यस्तै राजधानी वीरेन्द्रनगरलाई राजधानी केन्द्रित पूर्वाधार विकास आयोजना लागू गरिने नीति लिइएको छ भने वीरेन्द्रनगरका मुख्य बजार पार्किङ व्यवस्थापन घण्टाघर पार्क निर्माण र घण्टाघर पश्चिम खुल्ला पार्क निर्माण घण्टाघर दक्षिण पार्क निर्माण यसै बर्ष कार्य प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिने उल्लेख छ । व्यवस्थित फुटपाथ निर्माण गर्नेदेखि हालको सिटी बसपार्क पश्चिमपछि रहेको घेराबार गरेको खुल्ला ठाउँलाई पार्किङ  निर्माण गरी वसपार्क विस्तार गरिने योजना ल्याइएको छ । यस्तै वीरेन्द्रनगरको मुख्य बजार ट्राफिक व्यवस्थापनको लागि मंगलगढी चोकमा आकाशे पुलको निर्माण कार्य अगाडि बढाइने नगरप्रमुख ढकालले बताइन् ।

चर्चित