
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक Vianet Communications Ltd. ले अत्याधुनिक ‘WiFi 6’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले कम्पनीले यो सेवा बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार, आजको डिजिटल युगमा एउटै घरभित्र धेरै उपकरणहरू एकैसाथ सञ्चालन हुने अवस्थालाई ध्यानमा राख्दै WiFi 6 प्रविधि विकास गरिएको हो। पुरानो प्रविधिको तुलनामा करिब चार गुणासम्म बढी कार्यक्षमता दिने यस प्रविधिले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्दै प्रयोगकर्तालाई सहज र अवरोधरहित इन्टरनेट अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
भायानेटले २५० Mbps देखि ६०० Mbps सम्मका उच्च गतिको WiFi 6 प्याकेजहरू उपलब्ध गराएको छ। जसमध्ये २५० Mbps गतिको वार्षिक योजना रु. १३,८०० (भ्याटसहित) मा उपलब्ध हुनेछ। साथै, वार्षिक योजना लिने ग्राहकहरूले थप १ महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।
घरका सबै कुनामा समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले ‘WiFi 6 Mesh’ राउटरको विकल्प पनि ल्याएको छ, जसको मूल्य रु. ३,५०० (भ्याटसहित) तोकिएको छ। बाक्ला भित्ता वा ठूलो क्षेत्रफल भएका घरहरूमा समेत प्रभावकारी कभरेज दिन यो प्रविधि उपयोगी हुने बताइएको छ।
यसैबीच, पुराना ग्राहकहरूका लागि अपग्रेड प्रक्रियालाई सहज बनाउँदै कम्पनीले मात्र रु. ५०० मा पुरानो राउटरलाई नयाँ WiFi 6 ONU मा स्तरोन्नति गर्ने सुविधा दिएको छ।
४के भिडियो स्ट्रिमिङदेखि बिना अवरोधको अनलाइन गेमिङसम्मका आधुनिक आवश्यकताहरूलाई ध्यानमा राख्दै ल्याइएको यो सेवा प्रयोगकर्तामैत्री हुने कम्पनीको दाबी छ। सेवा सम्बन्धी थप जानकारीका लागि ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा पुग्न सकिनेछ।


