सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने प्रस्ताव

 सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने प्रस्ताव गरेका छन् ।

यसो गर्दा सार्वजनिक खर्च कटौती गर्न सकिने र यसले अर्थतन्त्रमै सकारात्मक योगदान गर्ने उनको विश्वास छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिँदै उनले सरकारी सुविधा लिनेका लागि विलासी गाडी किनिदिनुपर्ने कारणले समेत नेपालको सार्वजनिक खर्च उच्च हुन पुगेको बताए ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका पदाधिकारीका लागि कति मूल्य सम्मको गाडी खरिद गर्ने भनेर संघीय सरकारले तय गर्न सक्ने र प्रदेश सरकारले प्रदेशको हकमा निर्णय लिन सक्ने उनले बताए । यसो गर्दा मुलुककै हित हुने उनको भनाइ छ ।

‘निजामती कर्मचारीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीदेखि राष्ट्रपति सम्मका लागि ५० लाखको भन्दा माथिको गाडी चढ्न नपाउने व्यवस्था गरौं । यसले धेरै खर्च कटौती हुन्छ,’ मोदीले भने ।

पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका मोदीले प्रदेश तहले मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूले कति मूल्य सम्मका गाडी चढ्ने भनेर तय गर्नुपर्ने पनि बताए । उनले भने, ‘संवैधानिक निकायका पदाधिकारीहरूको लागि समेत विलासी गाडी दिनुपर्ने अवस्था छ । यो सच्चिनुपर्छ ।’

चर्चित