कर्णाली प्रदेश अस्पतालमा विरामीको मृत्यु प्रकरण ; जिल्ला अदालत सुर्खेत द्धारा १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

जिल्ला अदाल सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएको भनिएकी दैलेखकी भिमा गुरुङका आफन्तलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । २९ चैत २०८० मा अस्पतालको लापर्वाहीले मृत्यु भएको भन्दै आफन्तबाट जिल्ला अदालत सुर्खेतमा दायर भएको मुद्दामा प्रतिवादीबाट क्षतिपूर्ति भराउने गरी फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । उनका अनुसार बुधबार न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने ठहर गरेको हो ।

अस्पतालको लापर्वाहीले मृत्यु भएको भनिएकी दैलेखको आठबिस नगरपालिका– ५, पीपलकोटकी २२ वर्षीया भिमा गुरुङका आफन्तले १७ वैशाख २०८१ मा न्यायका लागि अदालत गुहारेका थिए । गत २८ चैत २०८० मा सामान्य पेट दुखाइसम्बन्धी समस्या भई हिँडेर उपचार गर्न प्रदेश अस्पताल पुगेकी भिमालाई अस्पतालले भोेलिपल्ट मृत घोषणा गरिदिएको थियो । सामान्य अवस्थामा अस्पताल आएकी भिमाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापर्वाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै आन्दोलित बनेका थिए । झण्डै एक साताभन्दा बढी वीरेन्द्रनगरमा आन्दोलित बनेका आफन्तले राखेका माग पूरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भिमाको शव अस्पतालमै छोडेर घर फर्किएका थिए । मृतक भिमाकी आठमहिने नाबालिका छोरीको पालनपोषणका लागि उचित व्यवस्था, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर गरिएको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएपछि उनको परिवार अदालतको ढोका गुहार्न बाध्य भएको थियो ।

मृतकका जेठाजू नाता पर्ने धन मगरले अन्तर्कालीन आदेश माग गर्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराएका थिए । अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजंग शाहीलगायतलाई विपक्षी बनाइएको थियो । अदालतमा दायर भएको मुद्दामा मृतकका नाबालिका छोरीको लालनपालन, रेखदेख, संरक्षणका साथै उचित क्षतिपूर्ति अदालतबाटै पीडित परिवारलाई दिलाई भराई पाऊँ भनी माग दाबी गरिएको थियो । यस्तै, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका प्रमाण नष्ट गर्न सक्ने भएको हुँदा मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउन माग गरिएको थियो । बिरामीको शल्यक्रियामा संलग्न चिकित्सकहरूका बारेमा जानकारी दिन प्रदेश अस्पताललाई आदेश, जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकार आयोगको प्रत्यक्ष निगरानीमा विशेषज्ञबाट पोस्टमार्टम गर्ने व्यवस्था मिलाइदिन पनि आफन्तले अदालतसँग माग गरेका थिए । पीडितका तर्फबाट कानुन व्यवसायी अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए । २८ चैतमा भिमा पेट दुखाइसम्बन्धी समस्या देखा परेपछि हिँडेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पुगेकी थिइन् । डाक्टरले जाँच गर्दा पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनेपछि अस्पताल भर्ना गरिएको थियो ।

चर्चित