
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार यस वर्ष जिल्लामा मात्रै करिब २ हजार ६ सय नागरिक विपद्जन्य घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । स्थानीय तहले विपद्का घटनालाई व्यवस्थापन गर्न, राहत, उद्धार तथा सुरक्षित ठाउँमा स्थानान्तरण लगायतका कामका लागि स्थानीय तहले तयारी थालेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले विपद् व्यवस्थापन कोषमा संघीय सरकारबाट पन्ध्र लाख रकम र प्रदेश सरकारबाट पनि केही रकम आएकाले यसै रकमबाट यस वर्ष आइपर्ने विपद्का घटनाको पूर्व तयारी गरिएको बताए । महतले विपद् व्यवस्थापनमा सबैभन्दा ठूलो भूमिका भनेकै स्थानीय तहसँग भएको र उनीहरुसँग स्रोतसाधन भएपनि जनप्रतिनिधिहरु विपद्जन्य घटनामा पूर्व तयारी गर्न जिम्मेवार नदेखिएको बताए । उनले स्थानीय तहका जनप्रतिनिधि जिल्लाको बैठकमै नआउने गरेको गुनासो गरे ।
त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले यस वर्ष आइपर्ने विपद् घटनासँग जुध्न बजेट व्यवस्थापन गर्नुका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति पनि तयारी अवस्थामा रहेको बताए । जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले वर्षातको समयमा आइपर्ने विपद्का घटनाहरुप्रति गम्भीर भई विपद् व्यवस्थापन कोष खडा गर्नुका साथै उद्धार तथा राहतका सामग्री खरिद गरिएको बताए । त्रिपुरासुन्दरी र जगदुल्ला गाउँपालिकाले जस्तै डोल्पाका अन्य पालिकाले पनि विपद् व्यवस्थापनको तयारी गरेको बताएका छन् । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ । गाउँपालिकाभित्र विपद्जन्य घटना हुनेबित्तिकै उद्धार गरेर राख्नका लागि सुरक्षित स्थानको व्यवस्थापन गरिएको अध्यक्ष दत्तबहादुर शाहीले बताए । पालिकाको स्रोतसाधनबाट सामान्य प्रकारका जोखिममात्र बहन गर्न सकिन्छ, ठूला जोखिमको हकमा राज्यले नै सहयोग गर्नुपर्छ । उनले विपद् व्यवस्थापनका सामग्री खरिद गरी वडा र प्रहरी चौकीमा पठाउनुको साथै विपद् व्यवस्थापन कोषसमेत खडा गरिएको बताए ।
काइेके गाउँपालिकाका अध्यक्ष अंगत रानाले गाउँपालिकाभित्र हुने विपद्का घटनालाई न्यूनीकरण गरी तत्काल राहत तथा उद्धार कार्य गर्न गाउँपालिका तयारी अवस्थामा रहेको बताए । जिल्लाको ठूलीभेरी नगरपालिकाले पनि यस वर्ष आइपर्न सक्ने विपद् घटनाहरुसँग जुध्नका लागि तयारी गरेको बताएको छ । नगरप्रमुख सुवर्णकुमार बुढाले बर्खामा घट्न सक्ने विपद् घटनाहरुसँग जुध्नका लागि नगरपालिकाले गर्न सक्ने सबै प्रकारका तयारी पूरा गरेको बताए । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काका अनुसार पछिल्लो चार वर्ष यतामात्रै डोल्पामा १ सय ४१ वटा विपद्का घटनाहरु भए । जसमा १३ जनाले ज्यान गुमाए भने १२ जना घाइते भए ।


