१३२ केभी प्रसारण लाइनः असोजभित्रै निर्माण सम्पन्न हुने

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम आगामी असोज महिनाभित्र सम्पन्न गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले तीन महिना भित्रैमा निर्माणको सबै काम सकिने जानकारी दिएका छन् । प्राधिकरणले बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई अघि बढाउन पहलसमेत गरेको छ । प्रबन्ध निर्देशक शाक्यले कर्णालीवासीले भोग्दै आएको विद्युत समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको बताए । ‘आगामी असोज महिनासम्म कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम पूरा हुनेछ,’ बुधवार सुर्खेत आएका उनले मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफलमा भने ।

प्रसारण लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् । सो क्षेत्रमा तीन वटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिने छ । स्थानीय अवरोधको कारण बुझ्न र समाधान खोज्न शाक्य बाँके पुगेका थिए । ‘स्थानीयका समस्या के छन्, त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत पु¥याउनेबारे हामीले छलफल गरेका छौँ,’ उनले भने, ‘समाधानका लागि भएका प्रयासहरू सकारात्मक छन् ।’ अवरोध हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र स्थानीय राजनीतिक दलका नेतृत्वहरूसँग प्राधिकरणको टोलीले छलफल गरेको पनि उनको भनाइ छ ।

बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका–१, गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । स्थानीयले भने कुनै पनि हालतमा बस्तीबाट विद्युत विस्तार गर्न नहुने बताइरहेका छन् ।

गृह मन्त्रालयले सुरक्षा घेराबाट विद्युत विस्तारको काम अघि बढाउन भनेपछि केही काम भएका छन् । निकुञ्ज क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख रवि चौधरीले बताए । पाँच वर्षदेखि रोकिएको काम अघि बढेको भन्दै उनले बस्तीमा भने स्थानीयले अवरोध कायमै राखेको जानकारी दिए । विवाद समाधानका लागि दुई प्रदेशका सरकार प्रमुख प्रदेश तथा संघीय सांसदसमेत त्यस क्षेत्रमा पुगिरहेका छन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पटक पटक आयोजनासँग सम्बन्धित व्यक्तिलाई भेटेर छलफल गरिरहेका छन् ।

एक महिना अघि मात्र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई काम अघि बढाउन मुख्यमन्त्रीले भनेका थिए । विवादितबाहेक अन्य स्थानको काम करिब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विवाद समाधान भए असार अन्तिमसम्ममा काम सम्पन्न गर्न सकिने आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

चर्चित