
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । डोल्पामा निर्माणाधिन १०६ मेघावाट क्षमताको अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा जेसीई/एएनके जेभीले पाएको छ । उक्त निर्माण कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव पारित भएसँगै ठेक्का सम्झौता गरिएको हो । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र जेसीई÷एएनके जेभीबीच १२ अर्ब १८ करोड रूपैयाँको सम्झौता भएको हो ।
कम्पनीको ठेक्का प्रक्रियामा सहभागीमध्ये मामा प्राविधिक रूपमा सिनो हाइड्रो र जेसीई÷एएनके जेभीको प्राविधिक प्रस्ताव पास भएको थियो । दुईमध्ये सबैभन्दा कम आर्थिक प्रस्ताव कबोल गर्ने जेसीई÷एएनके जेभीले ठेक्का पाएको हो । सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रूपैयाँ र जेसीईरएएनके जेभीले १२ अर्ब १८ करोड रूपैयाँको कबोल गरेका थिए । नियमानुसार सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको हो ।
ठेक्का प्रक्रियामै विवाद सिर्जना भएको थियो । पहिलो पटक २०८१ जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि ठेक्का निकालेको थियो । जसमा सातवटा कम्पनीले आवेदन दिएका थिए । प्राविधिक प्रस्तावमा कुनै कम्पनी छनोट नभएपछि अन्तिममा ठेक्का रद्ध भयो । कम्पनीले पुनः दोस्रोपटक ठेक्का आह्वान ग¥यो । जसमा चार कम्पनीले प्रस्ताव पेस गरे । प्राविधिक मूल्यांकनमा चारमध्ये दुई कम्पनी मात्रै उपयुक्त देखिए । प्राविधिक रूपमा उपयुक्त ठहरिएका दुई कम्पनीको नियमानुसार आर्थिक प्रस्ताव हेर्दा जेसीई÷एएनकेले बाजी मारेको हो ।
प्राविधिक प्रस्ताव मूल्यांकनका क्रममा जेसीई/एएनके जेभीले फर्जी कागजात पेस गरेको भन्दै विवादसमेत भएको थियो । प्रतिनिधिसभाको लेखा समितिमा उजुरी पनि परेको थियो । सोही कारण लेखा समितिले केही समय ठेक्का रोक्यो । जेसीई÷एएनकेविरुद्ध अर्को प्रतिस्पर्धी सिनो हाइड्रोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि अदालतसम्म उजुरी दिएको थियो । लेखा समितिले झण्डै दुई महिना ठेक्का प्रक्रिया रोकेपछि अदालतमा मुद्दा चलिरहेको भन्दै ठेक्का प्रक्रिया कानुन अनुसार अघि बढाउन बाटो खोलिदियो । अबभने ठेक्का सम्झौता भइ निर्माणको काम अघि बढ्ने छ ।
अर्धजलाशययुक्त आयोजना निर्माणका लागि २३ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रूपैयाँ ऋण र सात अर्ब रूपैयाँ सेयरबाट जुटाउन लागिएको हो । आयोजनाको गत वर्षको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै चार अर्ब ४० करोड रूपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् । एचआईडीसीएलले चार अर्ब रूपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड रूपैयाँ लगानी गरेका छन् ।
संस्थापक सेयरधनीका रूपमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १० प्रतिशत, नेपाल विद्युत प्राधिकरण नौ प्रतिशत, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको सेयर स्वामित्व छ ।
सर्वसाधारण सेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम समेत पूरा भएको छ ।
निर्माण थालेको पाँच वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । कम्पनीले १२० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत आयोजनासमेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।


